
बारा । नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीचको विवाद उत्कर्षमा पुग्दा हजारौं कामदारहरुले रोजगारी गुमाएका छन् । उद्योगीहरुले प्राधिकरणको बक्यौता रकम भुक्तानी नगरेको भन्दै धमाधम लाइन काट्न थालेपछि मजदुरहरु बिचल्लीमा पर्न थालेका हुन् ।बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका जगदम्बा स्टील र अशोक स्टीलको लाइन काटिए पछि उक्त उधोगमा कार्यरत मजदूरहरुले सिमरामा बिओध प्रदर्शन गरेका छन् ।
प्राधिकरणले सिमरा वितरण केन्द्र अन्तरगत पर्ने अशोक स्टील र जगदम्बा स्टीलको लाईन काटे पछि ति दुई उद्योगले कामदार कटौती गर्न थाले पछि त्यहाँ कार्यरत कामदारहरु बिचलित बनेका छन् । उद्योगहरु बन्द भएसँगै उद्योगमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काटेकाले आफूहरुको रोजगारी संकटमा परेको भन्दै उनीहरुले कालो ब्यानर र प्लेकार्डसहित बुधबार प्रदर्शन गरेका हुन्। मजदुरहरुले जुलुससहित इलाका प्रशासन कार्यालय सिमरा र नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमरामा पुगेर ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
उक्त ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाल विद्युत प्राधिकरणले एक्कासी विद्युत लाइन काटेपछि रोजगार दाताहरुबाट उद्योगमा श्रमिकहरु कटौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराएको हुँदा ती प्रतिष्ठानहरुमा कार्यरत ६ हजारभन्दा बढी श्रमिकहरुको रोजगारीमा प्रत्यक्ष असर पर्न गएको व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षण गराउँदछौं।’
उनीहरुले प्रदर्शनमा रोजगारीको ग्यारेन्टी गर, श्रमिकको अधिकार सुनिश्चित गर, बन्द उद्योग खुला गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा ६ हजारभन्दा बढी मजदुरको रोजगारीमा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ।
