
सचतक नेपाल न्यूज डेस्क,
२० भदौं,रौतहट। कोलिन्स ओबुयाले ८४ रन बनाएपछि केन्याले तेस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई जितका लागि २५६ रनको लक्ष्य पेस गरेको छ ।
केन्याका नैरोबीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा घरेलु टोलीका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको हो ।
केन्याका लागि ओबुयाले सबैभन्दा धेरै ८४ रन बनाए । ओबुयाले १११ बलमा ७ चौका र २ छक्का प्रहार गरे । लुकास ओलुओचले अविजित ५९ रन बनाए । सुकदीप सिंहले ३७ रन जोडे । इमानुयल बुन्डीले २३ रन बनाए । कप्तान एनगोचेले १७ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई विकेट लिए । वसिर अहमद र शाहब आलमले एक एक विकेट लिए ।
रोहितकुमार पौडेलको कप्तानीमा खेलेको नेपालले तीन खेलको एकदिवसीय शृंखला २–० ले जितिसकेको छ । आजको खेल जितेमा नेपालले क्लिनस्विप गर्नेछ ।
त्यसअघि नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो ।
