Thursday, April 16
Shadow

अमलेखगञ्जमा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ  शिविर सम्पन्न 

१३ असाढ। बारा : जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज स्वास्थ्य केन्द्रमा आयोजना गरिएको प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्वन्धी शिविरमा १ सय ५६ जना महिलाले सेवा लिएका छन् ।स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचानगरी उपचारमा सहजता ल्याउने उद्देश्यका जीतपुरसिमरा उपमहानगरपालिका जनस्वास्थ्य तथा प्रवर्द्धन शाखाले शिविर आयोजना गरेको हो ।

 

शिविरमा सेवा लिएकामध्ये १२ जना महिलामा पाठेघरको क्यान्सरको लक्षण देखा परेको हो ।लक्षण देखिएकाले औषधि दिएर पठाइएको स्वास्थ्य शाखाले बताएको छ । शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच र उपचार, स्तन क्यान्सर, आङखस्ने समस्या, बाँझोपन र दिसापिसाब चुहिरहने रोगको चेकजाँच तथा उपचार सेवा प्रवाह गरिएको थियो । सम्भव हुने केशमा प्रारम्भिक उपचार शिविरमै गरिएको जीतपुरसिमरा जनस्वास्थ्य तथा प्रवर्द्धन शाखा प्रमुख रबि भाष्करले बताए ।

 

शिविरमा बोल्दै जनस्वास्थ्य शाखा प्रमुख भाष्करले अस्पतालका पहुँच भन्दा बाहिर रहेका महिलाहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन घरदैलोमा शिविर गरिएको बताए । आफुहरुले नगरभित्रका दुर्गम वडाका महिलाहरुको स्वास्थ्यमा पहुँच स्थापित गर्नका निमित्त शिविर आयोजना गरिएको जानकारी दिए ।महिलाहरु रोग लुकाएर पीडादायिक जीवनयापन गर्न नपरोस् भन्ने उद्देश्यले यो शिविर आयोजना गरिएको भन्दै महिलामा जटिल समस्याको रुपमा रहेको पाठेघर, स्तन क्यान्सरजस्ता रोगको समयमै पहिचान गरि उपचारमा सहजता ल्याउन शिविरले ठूलो भूमिका निर्वाह गर्ने भाष्करले बताए ।

 

उनले पाठेघरमा आउने समस्याको सहि समयमा पहिचान नभए यसको विकसितरुपनै क्यान्सर भएकाले घरदैलोमा हुने शिविरको लाभ लिन आग्रह समेत गरे ।जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ।

 

जीतपुरसिमरा जनस्वास्थ्य तथा प्रवर्द्धन शाखाले यो भन्दा पहिला उपमहानगरको वडा न १६ टाङिया बस्ती र वडा न ७ जीतपुरमा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्वन्धी शिविर सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *