Monday, July 27
Shadow

काेशी ब्यारेज निरिक्षण गर्न सुनसरी पुगे बिहारका सिँचाइ मन्त्री

सचतक नेपाल,
१९ श्रावन, सप्तरी। भारतको बिहारका जल संसाधन (सिँचाइ) मन्त्री सन्जयकुमार झा कोसी ब्यारेजको निरीक्षण गर्न सुनसरीमा आएका छन् । यस क्रममा उनले सुनसरीमा रहेको कोसीको पूर्वी तटबन्ध अवलोकन गरेका छन् ।

कोसी नदी ओभरफ्लो भइ उदयपुरको बेलका नगरपालिका डुम्रीबोटेमा रहेको मानव बस्तीमा नै प्रवेश गरिरहँदा छिमेकी देश भारतको बिहारका मन्त्री झा नेपाल आएका हुन् । बिहारका सिँचाइ मन्त्रालय अन्तर्गत र कोसी योजना अन्तर्गतका कर्मचारीहरू उनको टोलीमा छन् ।

सप्तरीका प्रजिअ जनार्दन गौतमका अनुसार उनी सप्तरी पनि पुग्न सक्ने भएकाले सप्तरीको पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपालको पूर्वी पहाडी क्षेत्रमा क‍ेही दिनदेखि नै अविरल वर्षासँगै कोसीको बहाब बढ्दा सुनसरी, सप्तरी, उदयपुर लगायत जिल्लाका बासिन्दा प्रभावित भएका छन् । कोसीको बाढी बस्तीमा प्रवेश गर्न थालेपछि ठूलो संख्यामा मानिसहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् ।

हरेक वर्ष कोसीमा आएको बाढीका कारण भारतको बिहारका बासिन्दाहरू पनि प्रभावित हुने गरेका छन् । नेपालमा भने पछिल्लो केही दिनयता कोसीको बहाब बढेपछि ब्यारेजमा रहेका ५६ मध्ये ४६ वटा गेट खुला गरिएको छ ।

गत वर्ष पनि कोसीको बाँध भत्किँदा भारतको बिहारका हजारौं मानिस विस्थापित भएका थिए । यस्तै २०६५ सालको भदौमा कोसीको तटबन्ध भत्किएपछि नेपाल र भारतका कतिपय जिल्लाहरू जलमग्न हुनुका साथै ठूलो जनधनको क्षति भएको थियो । त्यसबेला हजारौं मानिस विस्थापित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *