
राैतहट – जिल्लाकाे सदरमुकाम गाैरबाट श्राेत नखुलेको नगदसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छन् ।
स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारतको मोतीहारी गोपालपुर बल्हाचोकका ३५ वर्षीय आजात कुमार मालाकार र सोही स्थानका २२ वर्षीय संजिव कुमार तिवारीलाई प्रहरीले गौर नगरपालिका वडा नम्बर १ बाट हिरासतमा लिएको हाे ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा ४ लाख ४९ हजार ५ सय भारतीय रुपैयाँसहित साेमबार बिहान दुवै जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट बरामद भएको भारतीय रुपैयाँको स्रोत खुलाउन नसकेको कारण नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनी दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
