Sunday, July 26
Shadow

कार्यालय प्रशासन प्राविधिककाे भर, कर्मचारी कामप्रति सुस्त

पाल्पा – जिल्लाको केही स्थानीय तहहरूले प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा लगाएका छन् । पशु प्राविधिक, स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारी तथा कृषि प्राविधिकलाई प्रशासनिक काममा लगाएको बताएकाे छ । 

पाल्पाका कतिपय स्थानीय तहमा प्रशासन क्षेत्रमा कर्मचारी अभाव भएपछि प्राविधिक कर्मचारीलाई दैनिक प्रशासनिक काममा लगाउन बाध्य पारिएको छ । कतिपयले भने प्राविधिक कर्मचारीलाई प्रशासन क्षेत्रको जिम्मेवारी नै तोकेर काममा लगाउने गरेका छन् ।

जिल्लाको माथागढी, निस्दी, बगनासकाली, पूर्वखोला गाउँपालिकामा प्राविधिक कर्मचारीलाई वडा कार्यालयको पञ्जीकरण तथा दैनिक कामकाजमा खटाइएको छ । 

स्वास्थ्य क्षेत्रको काम गर्न जिम्मेवारी पाएका अनमी र अहेबले वडा कार्यालयमा घटना दर्ता तथा चिठ्ठीपत्र प्रमाणितको काम गर्दै आएका छन् ।

कतिपय स्थानीय तहले भने पशु तथा कृषि प्राविधिकलाई समेत दर्ता चलानी तथा पालिकाको अन्य काममा लगाउने गरेको छ । यसरी जिल्लामा प्राविधिक कर्मचारीसँगै अन्य प्रशासनिक काम गर्ने १२ जना कर्मचारी रहेको बताइएको छ । 

पशु प्राविधिक क्षेत्रको कर्मचारीलाई दर्ता चलानी गर्न पालिकाले निर्देशन दिने गरेको जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाको भनाइ छ ।

गाउँमा किसानले पालेका पशुको उपचार तथा परामर्शका लागि पठाइएका पशु प्राविधिक कर्मचारीलाई वडाको दर्ता चलानीको काममा खटाइएको गुनासो आएको विज्ञ केन्द्रका प्रमुख डा. चन्द्रबहादुर रानाले बताउनुभयो ।

‘गाउँमा किसानले पशु प्राविधिक नपाएर क्षति भएको छ।’ उहाँले भन्नुभयो, ‘कतिपय पालिकाले हाम्रा प्राविधिकलाई जिम्मेवारी अनुसारको काम नदिएर अन्तै लगाउने गरेको पाइयो ।’

यस्तै, कतिपय स्थानीय तहले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई काजमा भन्दै वडा कार्यालय तथा पालिकामा दैनिक प्रशासनिक काममा लगाउने गरेको छ ।

स्वास्थ्य क्षेत्रको काम गर्न सरकारले खटाए पनि पालिकाले कर्मचारी अभाव देखाउँदै लामो समयसम्म अनमी, अहेब तथा मासिकलाई वडा कार्यालयको काम काजमा खटाएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरी बताउनुहुन्छ । 

गाेरखापत्र दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *