Monday, July 27
Shadow

रेडपान्डाको छालासहित ४ जना पक्राउ

सचतक नेपाल, ७ चैत । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित चारजनालाई पक्राउ गरेको छ । उनीहरूलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरस्थित अञ्जना होटेलबाट आइतबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र त्रिपुरासुन्दरी–११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । होटेलमा प्लास्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुईथान रेडपान्डाको छाला समेत बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताए ।

यसैबीच, प्रहरीले लागुऔषध चरेस तीन किलोसहित दुईजनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२, पुष्पलालचोकनजिक रहेको दंगाली–स्याङ्जाली होटेलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कालीकोटको खाँडाचक्र नगरपालिका–९ का प्रवीण विष्ट र खाँडाचक्र–७ का राजबहादुर कार्की रहेका छन् ।

– रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *