
सचतक नेपाल । पौष १५ ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश २ का १ सय ३६ वटा स्थानीय तहमध्ये १ सय १६ वटाले मात्रै मन्त्रालयमा बजेट पेश गरेको जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिकासहित २० वटा स्थानीय तहले अहिलेसम्म बजेट पेश गर्न सकेका छैनन्।
अहिलेसम्म बजेट पेश नगर्नेमा धनुषाका जनकपुरधाम उपमहानगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका, र धनौजी गाउँपालिका गरी ५ स्थानीय तह रहेको छन्।
त्यसैगरी सप्तरीको छिन्नमस्ता गाउँपालिका, सिरहाको कल्याणपुर नगरपालिका, औरही गाउँपालिका र नरहा गाउँपालिकाले बजेट पेश गरेका छैनन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको बजेट समेत पेस गर्न सकेको थिएन।
महोत्तरीको पिपरा गाउँपालिका, सर्लाहीको कौडेना गाउँपालिका, पर्सा गाउँपालिकाले पनि आव २०७८/०७९ को बजेट ल्याएका छैनन्।
त्यस्तै, रौतहटको गरुडा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, वृन्दावन नगरपालिका, बाराको सिम्रौनगढ नगरपालिका, विश्रामपुर गाउँपालिकाले हालसम्म बजेट पेश नगरेको मन्त्रालयले जनाएको छ।
पर्साको पोखरिया नगरपालिका र धोबीनी गाउँपालिकाले हालसम्म बजेट पेश गरेको छैनन्। जनप्रतिनिधिहरुबीचको विवादका कारण स्थानीय तहहरुले बजेट पेश गर्न नसकेको हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश– १ का १३७, बागमती प्रदेशका ११८, गण्डकी प्रदेशका ८५, लुम्बिनी प्रदेशका १०९, कर्णाली प्रदेशका ७९ र सुदूरपश्चिम प्रदेशका ८८ लगायत देशभरका ७३२ स्थानीय तहहरुले चालू आर्थिक वर्ष २०७८/०७९ को बजेट पेस गरिसकेका छन्।(सम्भार-नेपाल वाच)
