काठमाडौं, साउन १५ — सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको तनावका बीच हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाले शान्ति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेका छन्। संयुक्त अपिलमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले धार्मिक सहिष्णुता, आपसी सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकता देशको पहिचान तथा शक्ति भएको उल्लेख गरिएको छ। कुनै पनि घटनाका कारण सामाजिक सद्भाव र राष्ट्रिय एकतामा आँच पुग्न नदिन सबै पक्षलाई संयम अपनाउन आग्रह गरिएको छ।
धार्मिक अगुवाले देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गरी कानुनविपरीतका गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। साथै, धर्मको नाममा हिंसा, घृणा, अफवाह र विभाजनकारी गतिविधिमा संलग्न नहुन सम्पूर्ण नागरिकलाई आग्रह गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक नेतृत्व, सञ्चारमाध्यम र नागरिक समाजलाई संवाद र सहकार्यमार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।
