
माघ २१ कलैया : आगामी निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा (एमाले) ले बारा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी गतिविधि तीव्र बनाएको छ। कलैया उपमहानगरपालिका–१६ का पकडिया, मझौलिया, रामटोल, मुस्लिमटोल, कुशवाहा टोल र घाट श्रीपुर क्षेत्रमा एमालेका नेता तथा कार्यकर्ताहरूले घरदैलो र भेटघाट अभियान सञ्चालन गरेका छन्। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद, सुझाव संकलन र स्थानीय मुद्दामाथि छलफल गरिएको थियो।
अभियानका क्रममा एमाले केन्द्रीय सदस्य तथा उम्मेदवार ज्वालाकुमारी शाहले बारा–३ को विकास अब नारामा सीमित नहुने स्पष्ट पारिन्। सुशासन, पूर्वाधार विस्तार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताइन्। कार्यक्रममा बोल्दै सिता सुवेदीले महिलाको हक–अधिकार र सहभागिता विस्तारमा एमालेको भूमिका निर्णायक रहेको उल्लेख गरिन्। अघ्यानन्द पाण्डेले इमानदार नेतृत्व र स्पष्ट दृष्टिकोण बिना परिवर्तन सम्भव नहुने बताए भने रबिन्द्र दास श्रेष्ठले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य एमालेकै नेतृत्वमा पूरा हुने दाबी गरे।
अभियानमा विनोद कुमार साह, एम. समिउल्लाह, अशोक तिवारी, अमृत शर्मा, शर्मा बैठा, बृजकिशोर बैठा, दिपेन्द्र प्रसाद शाह, म्भु गिरी, पुरुषोत्तम साह, अनिल कुशवाहा, भवानी देवी दुलाल, मदन साह र भिखारी विद्रोहीलगायतको सक्रिय सहभागिता रहेको थियो। उपस्थित नेताहरूले ज्वालाकुमारी शाहको नेतृत्वलाई बारा–३ मा विकास र सुशासनको नयाँ सुरुवातको रूपमा चित्रित गर्दै एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
