Wednesday, August 5
Shadow

आज साेनाम ल्हाेछार, देशभर सार्वजनिक बिदा

सच तक नेपाल डेस्क, राैतहट । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । साेनाम ल्हाेछारकाे उपलक्ष्यमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएकाे हाे ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताहरु बताउछन् । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन ।

समितिका कार्यकारी निर्देशक वसन्त लामा यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य, सल्लाहकार मात्र बसेर पूजापाठ गरी ल्होछार मनाउन लागिएको बताउछन्।

विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होछारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको र्याली निकालिने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *