
सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीले आव्हान गरेको रौतहट बन्द मौसम परिवर्तन कारण आंशिकरुपमा मात्र प्रभाव देखिएको छ । तर यातायात क्षेत्र भने प्रभावित हुन पुगेका छन् । जिल्लाका मुख्य गौर चन्द्रपुर सडक खासै चहलपहल देखिएको छैन् ।
मंगलवार जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै बुधवार अति आवश्यक बाहेक अन्य सवारी बन्द रहने जानकारी गराएका थिए ।

रौतहटको हुलाकी सडक खण्ड विच चक्का जाम गर्दै जनमत पार्टी कार्यकर्ताहरुले मौलापुर र बंकुल जोडने हनुमान चौकमा टायर जलाएर प्रदर्शन गरिरहेका छन् ।

किसानहरुको समस्या समाधानका लागी सरकार गम्भीर नभएको भन्दै जनमत पार्टीले मधेशका जिल्लाहरुमा आन्दोलन गरिरहेको छ । राज्यले किसानका जायज माँगहरुलाई वेवास्ता गरेको भन्दै सिरहामा शुरु भएको किसान आन्दोलन प्रति एक्यवद्धता जनाएर किसानका माँग पुरा गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।
बन्दको पूर्वसंध्यामा मंगलवार साँझ गौर र गरुडा लगायत जिल्लाका विभिन्न स्थानमा जनमत पार्टीका नेता कार्यकर्ताले मशाल जुलुस प्रर्दशन गरेका थिए । बन्दका कारण आज बिहानै देखी गौर–चन्द्रनिगाहपुर सडकखण्डमा सार्वजनिक सवारी साधन चलेका छैनन ।
जनमत पार्टीका केन्द्रीय नेता ललित मल्लिकले किसानहरुको समस्या प्रति राज्य संवेदनहिन भएकोले आफुहरुले आन्दोलनको कार्यक्रम गर्नु परेको जनाकारी दिए ।
गौर भित्रको अवश्था भने पसलहरु खुलेका छन् । सार्वजनिक लगायत प्राइभेट कार्यालयहरु पनि खुलेको देखिन्छ । केही निजी सवारी साधन संचालन भए पनि सार्वजनिक सवारी साधन संचालन नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहान देखी पानी परेकाले बन्दकर्ताहरु पनि खासै सडकमा नदेखिएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडकखण्डमा भने यातायातका साधनहरु चलेका छन ।
यातायात बाहेक अन्य कुनै क्षेत्रमा बन्दको प्रभाव देखिएको छैन । जिल्लाका अधिकांश बजारहरु खुलेका छन । विद्यालय, बजार तथा कार्यालयहरु सुचारु अवश्थामा रहेको छन ।
