
काठमाडौँ- एमालेका अध्यक्ष एव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुनसम्बन्धी उच्चस्तरीय छानबिन आयोग नबनाएर आफ्नो संलग्नता लुकाउने बाटो खोजेको आरोप लगाएका छन्।

सुनसम्बन्धी उच्चस्तरीय छानबिन आयोग बन्न नदिएर सरकारले सय केजी सुन ६० केजीमा झारेको आरोप पनि लगाए।
उनले भने- ‘आयोग बन्न नदिएको सफलता यही हो।’
‘खोलाहरुमा सुन बगिरहेको छ भन्ने सुन्छौँ, हामी एयरपोर्टमै सुन बग्यो, सुन बाटोभरि मात्रै होइन, कुबाटोभरि पनि बगिरहेको छ। पक्राउ परेर कुनै घाटा छैन,’ उनले भने।
नेपालमा ३३ क्विन्टल सुन भित्रिएको भन्दै यत्रो लगानी कसरी गर्छ भन्दै उनले आश्चर्य पनि प्रकट गरे। ‘यही खुल्छ भनेर छानबिन आयोग बनेन। अर्थतन्त्र कुबाटोतिर गयो। अर्थतन्त्रको तरलता त त्यहाँ पो रहेछ,’ उनले भने, ‘यसरी पैसा जाँदो रहेछ उता, अनि यहाँ कहाँ पैसा हुन्छ? जब प्रशासन, शासन, कर्मचारीतन्त्र चलेको छैन भने त्यहाँको खर्च कसरी चल्छ?’
‘कांग्रेस सांसद सुनील शर्मालाई समाएर दुनियाँलाई तर्साउन खोज्यो, नाङ्लो ठटाएर हात्ती थर्कायो। सरकारले केही काम गरेन,’ उनले भने।
समय अनुकूल उद्योग सञ्चालनका लागि सरकारले सहयोग नगरेको पनि अध्यक्ष ओलीले आरोप लगाए।
सरकारले अहिले आर्थिक र उद्योगको संकटको बेला निर्मम तरिकाले अघि बढेको उनले बताए।
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौँमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था र समाधान छलफल कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।
बैँकहरुले ऋण तिर्न नसकेको अहिलेको अवस्थामा बैँकहरुलाई थप ऋण दिएर माथि उकास्नुपर्ने समयमा सरकारले थप अप्ठ्यारोमा पारेको उनको तर्क छ।
उनले राजनीतिक संलग्नताको भरमा उद्योग मर्न लागेको भन्दै देशलाई औद्योगीकरण गर्न सकेनौँ भने अगाडि बढ्न नसक्ने बताए।
देश वैदेशिक ऋण र परनिर्भरतातर्फ बढेको उनको तर्क छ।
